असोजमा झन्डै ६ अर्बको विद्युत् निर्यात, बङ्गलादेशमा पनि आपूर्ति पुनः सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको हो ।
यसैबिच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताउनुभयो । उहाँका अनुसार असोज महिनामा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको थियो ।
नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात गत शुक्रबार, कात्तिक ६ गते साँझदेखि पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौता बमोजिम स्वीकृति प्राप्त जलविद्युत केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यात आंशिक रूपमा प्रभावित भएको थियो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताए । कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा परेको असरका बाबजुद अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिनु र बङ्गलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको उनले बताए ।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो ।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको ६ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात हुँदै आएको छ ।
विद्युत् निर्यात क्षमता करिब १,१७९ मेगावाट
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यात अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब १,१७९ मेगावाट पुगेको छ ।